logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारले राष्ट्रियसभामा पेश गरेका नौवटा अध्यादेशमाथि कांग्रेसद्वारा विरोधको सूचना


अंकुरण खबर
1.339K
Shares

सरकारले राष्ट्रियसभामा बिहीबार पेश गरेका नौवटा अध्यादेश अस्वीकार गर्न प्रमुख प्रतिपक्षी दल कांग्रेसले विरोधको सूचना दर्ता गरेको छ ।

आर्थिक अध्यादेश, नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, रेल्वे अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरीसम्बन्धी अध्यादेश, बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपणसम्बन्धी अध्यादेश, विनियोजन अध्यादेश, शपथसम्बन्धी अध्यादेश, संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र सामाजिक सुरक्षा अध्यादेश अस्वीकार गर्न कांग्रेसले विरोधको सूचना पेश गरेको हो ।

२०७८ असार १७ गते बसेको राष्ट्रियसभा बैठकमा नेपाल सरकारले जारी गरेको अध्यादेशहरू सभासमक्ष पेश गरेको हुँदा नेपाली कांग्रेसले उक्त अध्यादेशहरू अस्वीकारका लागि सूचना पेश गरेको छ,’ कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।

संविधानको मर्म र भावना विपरीत, पृथकीकरणको सिद्धान्तविपरीत, संसदीय मान्यता र भावनाविपरीत, संसद छलेर अध्यादेश ल्याइएकाले, असमसामयिक एवं असान्दर्भिक, सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत कामकारवाही रोकेको विषय, संसदमा विचाराधीन हुँदाहुँदै अध्यादेशमार्फत ल्याउँदा संसदीय अभ्यास र मर्यादा विपरीत भएको, कर निर्धारणलगायत आर्थिक र विनियोजनसम्बन्धी विषयहरू जनप्रतिनिधिको थलो संसदमा छलफल गरेर अघि बढाउनुपर्नेमा प्रतिनिधिसभा विघटन गरी ल्याएको अध्यादेश भएकोले र कतिपय विधेयकहरू संसदमा विचाराधीन हुँदाहुँदै अध्यादेशमार्फत ल्याउँदा संसदीय अभ्यास र मर्यादाविपरीत भएकोले अस्वीकार गर्नुपर्ने कांग्रेसको माग छ ।