logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै


अंकुरण खबर
962
Shares

सत्तारुढ दल नेकपा एमालेको शुक्रबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ।

बैठक दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ।

फागुन २३ पछि राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाएर अघि बढेको नेकपा एमालेले आयोजक कमिटी भंग गर्दै केन्द्रीय कमिटीमा नै रुपान्तरण गरेपछि केन्द्रीय कमिटीको बैठक बसेको हो।

संस्थापन पक्षले २०७५ जेठ २ कै संरचनाअनुसार केन्द्रीय कमिटीको १३ औं बैठक भनेको छ। तर, यो बैठक असन्तुष्ट पक्ष माधव-झलनाथ पक्षले बहिष्कार गरेको छ। आफूहरूको मागअनुसार पार्टीलाई नवौं महाधिवेशनको संरचनाबाट नलगेर फागुन २८ कै निर्णयलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरिएको भन्दै माधव-झलनाथ पक्षले शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठकलाई पनि अवैधानिक भनेको छ।

संस्थापन पक्षले केन्द्रीय कमिटीमा रुपान्तरण गरेपछि बोलाएको बैठकलाई चासोका साथ हेरिएको छ। शुक्रबारको बैठकमा एमाले उपाध्यक्षको हैसियतमा नेता वामदेव गौतम पनि सहभागी भएका छन्। उनले आफू पार्टी एकताकै पक्षमा रहेको भन्दै एउटा पक्षलाई बाहिर राखेर पार्टी बलियो नहुने धारणा राखेका थिए।

शुक्रबारको बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २३ जना पाटीका सांसदलाई सोमबार बेलुकी ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन संस्थापन पक्षले डेडलाइन नै तोकेको छ। तर, माधव-झलनाथ पक्षीय सांसदहरूले अवैधानिक रुपमा बसेको बैठकले गरेको निर्देशनको औचित्य नरहेको प्रतिक्रिया दिइसकेका छन्।

असन्तुष्ट पक्षले यसअघि नै अदालतमा रिट निवेदक पक्ष भएर गरिएको हस्ताक्षर फिर्ता हुन नसक्ने प्रष्ट पारिसकेको छ। ओलीले डेडलाइन नै तोकेर हस्ताक्षर फिर्ता नभएमा पार्टी फुटको घोषणाका रुपमा बुझ्ने बताइसकेका छन्।