प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सभामुख अग्निप्रसाद सापकोटातर्फका कानुन व्यवसायीको बहस सकिएको छ ।
आइतबारको बहसमा सभामुखका तर्फबाट वरिष्ठ अधिवक्ता श्याम खरेल, उपेन्द्रकेशरी न्यौपाने, लवकुमार मैनाली, अधिवक्ता मेघराज पोखेरल र श्रीकृष्ण सुवेदीले दुई घण्टाको समयमा बहस गरेका हुन् ।
सभामुखका कानुन व्यवसायीको बहस सकिएलगतै निवेदक पक्षबाट जवाफी बहस शुरु भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदको तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले जवाफी बहस गरेका छन् ।
जवाफी बहसका लागि २ घण्टा दुई मिनेट समय बाँकी रहेको संवैधानिक इजलासमा जानकारी गराइएको छ । वरिष्ठ अधिवक्ता शम्भु थापा, बद्रीबहादुर कार्की र हरिहर दाहालले सोमबारको इजलासमा जवाफी बहस गर्ने जनाएको छ ।