बाग्मती प्रदेशको प्रदेशसभा बैठक आइतबार पनि स्थगित भएको छ ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर दिउँसो ३ बजेका लागि बोलाइएको थियो ।
दलहरूबीच संसद् सञ्चालन गर्नेबारे सभामुखसहितको बैठकमा सहमति नजुटेपछि सोमबारसम्मका लागि स्थगित गरिएको हो । आइतबार दिनको ३ बजे हुने भनिएको प्रदेश सभाको बैठक विशेष कारणले गर्दा सोमबार दिनको १ बजे हुने प्रदेश सचिव कृष्णहरी खड्काले जनाएका छन् ।
माधव नेपाल समूह अझै पनि बजेटलाई पास गराउन पूर्ण सहमत नभइसकेको जनाइएको छ। विनियोजन विधेयकमा असन्तुष्टि व्यक्त गर्दै शनिवार विपक्षी दलहरूले संसद् अवरुद्ध गरेका थिए ।
सोमबार बस्ने प्रदेशसभाको बैठकमा सरकारको तर्फबाट एक जना मन्त्रीले सरकारले ल्याएको बजेटमा भएका सत्यतथ्य विवरण सार्वजनिक गर्ने, प्रतिपक्ष दलहरुले उठाएको सरोकारको विषयमा स्पष्टिकरण दिने र प्रतिपक्षहरुले व्यक्त गरेको भावनालाई कदर गर्दै विनियोजित बजेटमा फेरबदल हुनसक्ने सम्भावना रहेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक दीपक निरौलाले बताए ।