प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले अहिलेको अवस्थामा नेकपा एमालेको विकल्पमा सरकार बन्ने आधार के हो भनेर प्रश्न गरेका छन् ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहसका क्रममा राणाले वरिष्ठ अधिवक्ता हरिहर दाहाललाई यो प्रश्न गरेका हुन् ।
रिटकर्ताको तर्फबाट जवाफी बहसमा रहेका दाहाललाई राणाले सोधे, ‘फागुन ११ मा वैकल्पिक सरकार बन्ने अवस्था रहन्छ भनेर नै संसद् पुनःस्थापन भयो। एमाले बाहेकको सरकार बन्ने अवस्था थियो । अहिले देउवालाई प्रधानमन्त्री बनाउने विषयमा एमाले बाहेकको सरकार बन्न सक्ने अधार देखिएको हो र ? एमालेको विकल्पमा सरकार बन्ने आधार के हो ?’
जवाफमा दाहालले शेरबहादुरको दावीमा दलको कुरा उल्लेख नभएको भन्दै यो संविधान र संसद् बाँचोस् भनेर नै त्यसो गरिएको बताए । इजलासले संविधान बमोजिम काम भएको छैन भनेर प्रष्ट पारी दिनुपर्ने उनको भनाइ छ । ‘१४९ जनाको हस्ताक्षर छ कसैले मैले गरेको छैन भनेर भनेको अवस्था छैन। सांसदले स्वविकीय अधिकार प्रयोग गर्दा निर्दलियता जन्मिने भन्ने हुँदैन,’ उनले भने ।
राणाले अर्को प्रश्न गर्दै भने, ‘धारा ७६ (५) प्रधानमन्त्री नियुक्तिका लागि मात्रै हो कि स्थायित्वका लागि होरु सरकार बन्नका लागि देउवाको जुन निवेदन तपाईहरुले दिनुभएको छ,त्यो हेर्दा संसदीय व्यवस्थालाई सार्थकता दिन्छ भन्ने लाग्छ तपाईहरुलाई ? ‘ भन्ने जवाफमा दाहालले संसद् विघटन नहोस्, स्थायित्व होस् भनेर नै धारा ७६ (५) को व्यवस्था संविधानमा राखिएको बताए ।