नेकपा एमालेमा जारी अन्तरसंघर्ष अन्त्यका लागि पूर्वगठित कार्यदलको बैठक मंगलबार पुनः बस्ने भएको छ।
सोमबार सिंहदरबारमा बसेको कार्यदलको बैठकमा एमाले भित्र सहमतिमै अघि बढ्नेबारे छलफल भएको थियो।
माधव नेपाल पक्षीय नेता भीम रावलले आज दिउँसो १ बजे पुनः बैठक बसेर छलफल गरिने बताए। यसअघि आइतबार साँझ रावलले अध्यक्ष केपी ओलीसँग भेट गरेका थिए। सोमबार बिहान रावलले नेता माधव नेपालसँग भेट गरेर ओलीसँगको छलफलबारे जानकारी गराएका थिए।
सोमबार साँझ कार्यदलका सदस्यहरू सिंहदरबारमा भेला भएर गरेको छलफल सकारात्मक भएको र थप छलफल गर्ने सल्लाह भएको थियो। सोही अनुरुप आज बैठक बस्न थालेको बताइएको छ।
कार्यदलमा दुवैपक्षका पाँचरपाँच जना नेता रहेका छन्। कार्यदलमा ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन्। नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त रहेका छन्।