निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षसँग छलफल गर्दैछ।
आयोगले अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई छलफलका लागि आज मंगलबार बिहान ११ बजे बोलाएको हो ।
राजनीतिक दलसम्बन्धी ऐनको प्रावधान अनुसार दुवै पक्षलाई सहमतिको प्रयासका लागि छलफलमा बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।
ठाकुर पक्षबाट ठाकुरसहित लक्ष्मणलाल कर्ण, सुरेन्द्र झा, केशव झासहित दुई कानुन व्यवसायी आयोग जानेछन्। यस्तै, यादव पक्षबाट यादवसहित, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, नेता राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव र प्रकाश अधिकारी आयोग जाने तय भएको छ।
जसपाका ५२ कार्यकारिणी सदस्य (रेशम चौधरीसहित) मध्ये ३१ जना उपेन्द्र-बाबुराम पक्षमा छन्।
महन्थ-राजेन्द्र पक्षसँग २१ जना छन्। तर, ठाकुरले पहिलो वरियताका अध्यक्षलाई कार्यकारिणी सदस्य थप गर्ने अधिकार विधानले दिएको भन्दै २० जना थप गरेर पठाएका छन्।
यस्तै, जसपामा ३४ निर्वमान सांसद (दुई जना निलम्बित) मध्ये महन्थ-राजेन्द्र पक्षसँग २० जना छन् भने उपेन्द्र-बाबुराम पक्षसँग १२ जना मात्रै छन्।