माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतबाट परमादेश जारी हुने विश्वास व्यक्त गरेका छन्।
सोमबार निधन भएका पार्टी केन्द्रीय सदस्य महादेव यादवलाई अन्तिम श्रद्धाञ्जली दिन आज (मंगलबार) जनकपुरधाम आएका प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना भई देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी हुने विश्वास व्यक्त गरेका हुन्।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको पक्ष, विपक्ष र एमिकस क्युरीको बहस सकिएको छ । अहिले उक्त मुद्दालाई मुद्दा हेर्दाहेर्दैमा राखेर अर्को पेसी असार २८ गतेका लागि तोकिएको छ। सोही दिन मुद्दाको फैसल हुने पनि बताइएको छ।
सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले प्रतिनिधि सभा पुनःस्थापना भए संविधानको मर्म र लोकतान्त्रिक मूल्य–मान्यता बाँच्ने अन्यथा संविधान तथा लोकतन्त्र मिचे पनि हुने नजिर स्थापित हुने बताए। ‘त्यस्तो कल्पनासम्म पनि गर्न सक्दिनँ,’ उनले भने।
प्रधानमन्त्री केपी ओली थप निरंकुश बन्दै गएको बताउँदै उनले सर्वोच्च अदालतलाई ओलीले दबाब दिन खोजेको आरोप लगाए।
प्रचण्डले यादवको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे। यादव जनयुद्धको बेलादेखि नै माओवादीमा सक्रिय रुपमा लागेका थिए।
५७ वर्षको उमेरमा धनुषाको सहिदनगर नगरपालिका–१ बालाबाखरस्थित आफ्नै निवासमा सोमबार बेलुका यादवको निधन भएको हो। उनी लामो समयदेखि क्यान्सर पीडित थिए। उनका श्रीमती, दुई छोरी र एक छोरा छन्।