एमालेको अन्तरिक विवाद समाधान गर्न भनेर गठन गरिएको कार्यदलको बैठकमा आज (मंगलबार) कुनै सहमति हुन सकेन।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको थियो। बैठकमा असहमतिका विषयमा खुला रूपमा छलफल भएको कार्यदलका एक सदस्यले बताए। तर कुनै पनि सहमतिमा पुग्न नसकेको उनले जानकारी दिए।
कार्यदलको बैठक भोलि (बुधबार) बिहान साढे ८ बजे फेरि बस्ने बताइएको छ। केही समयदेखि निष्क्रय रहेको सो कार्यदलको बैठक हिजो (सोमबार) साँझ पनि बैठक बसेको थियो। सोही बैठकले आज दिउँसो १ बजेका लागि बैठक राख्ने निर्याय गरेको थियो।
कार्यदलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्।
नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त छन्। नेपाल पक्षबाट कार्यदलमा नेता भीम आचार्य थप भएका छन्। उनी हिजोको बैठकमा पनि सहभागी थिए।
गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाइएको थियो।