नेकपा (एमाले) विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको छ ।
बिहानै बस्ने भनिएको बैठक नेताहरू आन्तरिक परामर्शमा भएपछि ढिला भएको हो । कार्यदलको बैठक अघि नेता भीम रावलले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए ।
मंगलबार सिंहदरबारमा भएको छलफलमा सहमतिका लागि विभिन्न विकल्प तय भए पनि ठोस निष्कर्ष निस्कन सकेको थिएन। आजको बैठकमा आन्तरिक समस्या समाधानका लागि गम्भीर छलफल हुने कार्यदल सदस्य रावलले बताए ।
उनले मंगलबारको बैठकमा सहमतिका लागि अघि सारिएका विभिन्न विकल्पमाथि सकारात्मक छलफल भएको बताए । पार्टीभित्रको विवाद समाधानका लागि दुवै पक्षका ५-५ सदस्यहरू रहने गरी कार्यदल गठन भएको थियो ।
कार्यदलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन् भने नेपाल पक्षबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन् ।