logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मनसुनी वायुको प्रभाव, यी प्रदेशमा वर्षाको सम्भावना


अंकुरण खबर
1.287K
Shares

जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभावले मुलुकका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले हाल देशभर सामान्यदेखि पुर्ण बदली रहेको जनाएको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश लुम्बिनी र कर्णाली प्रदेशका धेरै स्थानहरुमा तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थान धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यी प्रदेशहरुको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।

यसैगरी बाढी पूर्वानुमान महाशाखाले भोलिसम्म नारायणी र यसका सहायक नदीहरू विशेषगरी बुढिगण्डकी, त्रिशुली, मर्स्याङ्दी, कालीगण्डकी लगायतका नदीहरूमा बहाव उल्लेख्य बढ्ने र केहीमा सतर्कता पार गर्ने सम्भावना रहेको जनाएको छ।

सप्तकोशी र यसका सहायक नदीहरू सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण तमोर लगायतका नदीहरूमा बहाव बढ्ने तथा केहीमा सतर्कता तह आसपास पुग्ने तथा तिनाउ, कन्काई, कमला, बागमती र यिनका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरूमा उक्त अवधिभर विशेष सावधानी अपनाउनुहुन महाशाखाले अनुरोध गरेको छ ।