पाल्पामा पहिरो जाँदा ६ वटा घर पुरिएका छन् । तिनाउ गाउँपालिका–५ मा पहिरो खस्दा ६ घर पुरिएका हुन् ।
घर पुरिदा एक जना बेपत्ता भएका छन् भने ७ जना घाइते भएका छन् । पहिरोमा परी वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको हो । यस्तै चार वर्षीय बालक बेपत्ता भएका छन् भने ७ जना पहिरोमा परेर घाइते भएका छन् ।
प्रहरीका अनुसार स्थानीय आकाश तामाङ, नरबहादुर राना, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोमा पुरिएको छ । पहिरोले बाटो अवरुद्ध भएपछि प्रहरी घटनास्थल पुग्न पाएको छैन ।
त्यस्तै तनहुँको बन्दीपुर गाउँपालिका–२ स्थित खहरे खोलामा आएको बाढीले ६ घर बगाएको छ । बुधबार रातिदेखि परेको पानीले खोलाको बहाव बढेपछि आसपासका घरहरू बगाएको हो ।
घरका परिवारलाई पहिले नै टोलको सामुदायिक भवनमा राखिएकाले मानवीय क्षति भने नभएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।
झरीका कारण आएको पहिरोले डुम्रे–बन्दीपुर सडकखण्ड पुनः अवरुद्ध भएको गाउँपालिकाले जनाएको छ ।