Breaking Newsअन्तर्वार्ता

ज्याननै लिने स्क्रब टाइफस रोग कसरी लाग्छ, बच्न के गर्ने ?

पछिल्ला केही वर्ष यता नेपालमा स्क्रब टाइफसका बिरामी बढेको देखिन्छ । यो रोगले  धेरैको ज्याननै लिएको छ । प्रत्येक वर्ष विशेषतः वर्षा याममा स्क्रब टाइफसका बिरामी देखापर्छन् । स्क्रब टाइफस कसरी लाग्छ ? यसका लक्षण के कस्ता हुन्छन् ? र कसरी बच्ने ? अंकुरण खबसंगको कुराकानीमा कन्सलटेन्ट फिजिसीयन डा.खेमराज भुसालको सुझाब यस्तो छ…

के हो स्क्रब टाइफस ?
मानिसबाट मानिसमा नसर्ने एक प्रकारको जीवाणु ‘रिकेटसिया सुसुगामुसी’ले संक्रमित सूक्ष्म कीरा (माइट)को टोकाइका कारण लाग्ने सरुवा रोग नै स्क्रब टाइफस हो ।

स्क्रब टाइफसको संक्रमण बढी हुने संभावित ठाँउ :

यो रोग प्रायः गरेर वर्षायाममा बढी देखापर्दछ । मुसामा लाग्ने किर्ना अर्थात् माइट प्रायः घाँसको झाडी, खेतबारी, वनजङ्गल, घाँस भएको चौर,घर वरिपरिको घुरान आदिमा हुने गर्दछ । बिना साबधानी यस्ता ठाँउमा जाँदा या काम गर्दा यो रोगको संक्रमण हुने गर्दछ । साथै मुसाको सम्पर्कबाट पनि यो रोग सर्छ ।

यसका लक्षणहरु :
स्क्रब टाइफसका लक्षण रुघा खोकी साथै डेंगुका लक्षणसंग पनि प्रायः मिल्दा जुल्दा हुन्छन् । यद्यपी निम्न लक्षण देखिए स्क्रब टाइफसको शंका गर्नुपर्छ

१.ज्वरो आउने,ज्वारो बढी आउँने भएकाले कहिलेकाही काम ज्वारो समेत आउँन सक्छ ।
२. धेरै टाउको दुख्ने ।
३. पसिना आउने ।
४. थकाई लाग्ने ।
५.झाडापखला लाग्ने ।
६.खोकी लाग्ने ।
७·आँखा रातो हुने दुख्ने ।
८·केही निल्दा दुख्ने,खान मन नलाग्ने ।
९.आलस्यपन आउँने ।
१०.किराले टोकेको ठाँउमा दाग बस्ने ।

यो रोग लागेको कसरी थाँहा पाउँने ?
यदी कुनै विरामीमा माथिका लक्षण देखा परेमा रगतमा एन्टीजेन परीक्षण गरि रोग लागे नलागेको एकीन गर्न सकिन्छ ।

यसबाट बच्ने उपाय :

कुनै पनि रोगबाट बच्ने उत्तम उपाय भनेकै रोग लाग्नै नदिने वातवरण निर्माण गर्ने हो । यसका लागि सकेसम्म झाडी, बनजंगल, घाँसपात हुने ठाँउमा जानु हुदैन् । यदि जानै परे खेतबारीमा काम गर्दा, वनजङ्गल वा झाडीमा काम गर्दा पूरा शरीर ढाक्ने कपडा लगाउने, सम्भव भएसम्म लामो जुत्ता लगाउने । सकेसम्म भुइँमा नबस्ने । बस्नु परेमा पिरा,गुन्द्री या केही कपडामा  बस्ने । आफ्नो वरपर मुसा नआउने  व्यवस्था गर्ने ।

के यो रोगको संक्रमणबाट मृत्यु हुन्छ ?
हो,यो रोग लागेकै कारण मानिसको मृत्यु भएको पनि छ । यो रोग सबै उमेर समुहका मानिसमा देखा पर्न सक्छ । यो रोग लागेर बेलैमा उपचार हुन सकेन भनी बिस्तारै शरीरका  कलेजो, फोक्सो मस्तिष्क लगायतका विभिन्न अङ्गले काम गर्ने नसक्ने अवस्था हुने भएकाले बिरामीको मृत्यु समेत हुन सक्छ । तसर्थ यो रोग लागेको शंका लागेमा तुरुन्त चिकित्सककोमा परीक्षण गराई  चिकित्सकको सल्लाह बमोजिम उपचार गर्नुपर्छ ।

Comment here