नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा नै खरीद गरिएको मोबाइल फोनमा इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर (आइएमईआई) नम्बर दर्ता गर्नु नपर्ने जनाएको छ ।
प्राधिकणले बुधबार सूचना जारी गर्दै व्यावसायिक हिसाबले नियमानुसार आयात भई नेपालमा नै खरीद भई प्रयोगमा रहेका मोबाइल सेटको पुनः आइएमईआई नम्बर दर्ता गर्नु नपर्ने जनाएको हो ।
मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी यसलाई थप व्यवस्थित गर्ने प्रयोजनका लागि प्राधिकरणले साउन १ गतेदेखि मोबाइल म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गर्दैछ ।
‘धेरै मोबाइलका ग्राहकलाई प्रयोगमा रहेका आफ्नो सेटको आइएमईआई दर्ता गर्नुपर्ने हो की भनी भ्रम तथा अन्योल उत्पन्न भई प्राधिकरणमा सम्पर्क गर्ने क्रम बढेको छ ।
प्राधिकरणको वेबसाइटमा उपलब्ध लिङ्कमा दर्ता गर्ने क्रम पनि अत्याधिक वृद्धि भई उक्त प्रणालीमा प्राविधिक समस्या उत्पन्न भई दर्ता प्रक्रियामा अवरोध भएको र सञ्चालन हुन केही समय लाग्नेछ,’ जारी सूचनामा जनाइएको छ ।
नेपालमा मोबाइल सेट खरीद गर्दा नियमानुसार आयात भई प्राधिकरणमा आइएमईआई दर्ता भएका मोबाइल सेट खरीद गर्न तथा अनिवार्य रुपमा भ्याट बिल लिई खरीद गरी अनावश्यक झन्झट एवं अन्योलबाट मुक्त हुन अनुरोध गरेको छ ।
