कोरोना सङ्क्रमणका कारण इलाममा एकै दिन श्रीमान् श्रीमतीको मृत्यु भएको छ।
माङसेबुङ गाउँपालिका–५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीया लक्षीहाङमा लावतीको मृत्यु भएको परिवारजनले जनाएका छन्। टेकबहादुरको बिहीबार बिहान र लक्षीहाङमाको दिउँसो साढे ३ बजे मृत्यु भएको हो।
लावती परिवारका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएकामा दुई जनाको ज्यान गएको छ। एकै परिवारका दुईको मृत्यु भएसँगै गाउँमा निकै त्रास फैलिएको छ।
६ दिनअघि उनीहरुलाई सङ्क्रमण पुष्टि भएको थियो। सङ्क्रमित सबै होमआइसोलेशनमा रहेका छन्। उनीहरुका दुई छोरा, एक बुहारी र दुई नाति कोरोना सङ्क्रमित रहेको बताइएको छ। स्थानीयवासी राम योङहाङका अनुसार परिवारका अन्य सदस्यको अवस्था भने सामान्य रहेको छ।
इलाममा बिहीबार थप २२ जनामा कोरोना सङ्क्रमण देखिएको छ। यससँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या दुई हजार १४४ पुगेको छ।
सङ्क्रमितमध्ये एक हजार ७२१ जना निको भइसकेका छन् भने ५२ जनाको यसअघि नै निधन भइसकेको थियो । जिल्लाभर ३७१ सङ्क्रमित उपचाररत रहेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ। रासस