चीनबाट सरकारले खरिद गरेको भेरोसेल खोपको पहिलो खोप लिएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज नेपाल फर्किएको छ । पहिलो खेपमा वाइडबडीले ८ लाख डोज खोप लियर फर्किएको हो ।
चालक दलका १२ सदस्यसहित बेइजिङ गएको जहाज बिहान ६ बजेर १६ मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेको नेपाल नागरिक उड्यन प्राधिकरणले जनाएको छ ।
यो खोप नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग खरिद गरेको हो । निगमको वाइडबडी विमान यसपछि असार ३१ र साउन ७ मा बाँकी खोप लिन बेइजिङ जाने तालिका रहेको निगमका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्तकालीन कार्य सञ्चालन प्रमुख डा समीरकुमार अधिकारीले चीनबाट ल्याउन लागेको भ्याक्सिन अर्को हप्तादेखि लगाउन शुरु गरिने जानकारी दिए ।
चीनबाट अब ल्याइने र आज आइपुगेको भोरोसेल खोपको पहिलो डोज ५५ वर्षमाथिका नागरिकलाई दिइने भएको छ ।
नेपालमा अहिलेसम्म ४२ लाख ४८ हजार डोज खोप आएको छ । आठ लाख ५१ हजार ३०० जनालाई दोस्रो मात्रा र २६ लाख ११ हजार ८ सय ७ जनालाई पहिलो मात्रा लगाइएको छ ।