नेकपा (माओवादी केन्द्र)को दर्ता खारेजीबारे बुझ्न माओवादीबाट नेकपा (एमाले) मा प्रवेश गरेका नेताहरू निर्वाचन आयोग जाने भएका छन्।
पूर्वमाओवादी नेता टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा र गौरीशंकर चौधरी आज आयोग जान लागेका हुन्।
माओवादी केन्द्र दर्ता खारेजीको माग गर्दै बुधबार अधिवक्ता सरोज बुढाथोकीले आयोगमा निवेदन दर्ता गराएका छन्।
अधिवक्ता बुढाथोकीसँग पूर्वमाओवादी नेता लीलबहादुर थापा लगायत पनि आयोग पुगेका थिए। नौ वर्षसम्म महाधिवेशन नभएको, महाधिवेशनबाट निर्वाचित समितिका अधिकांश सदस्यहरूले पार्टी छाडिसकेकाले माओवादी केन्द्र असंवैधानिक भएको थापाको जिकिर छ।
आफूहरू आयोग जान लागेको पुष्टि गर्दै प्रभु साहले भने, “माओवादी दर्ता खारेजीको माग गरेर सरोजजीले दर्ता गर्नुभएको निवेदनमा के भइरहेको छ भन्ने बुझ्न जान लागेका हौं।”
अदालतको २३ फागुनको फैसलापछि एमाले छाडेर माओवादीमा लागेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, गौरीशंकर चौधरी, लेखराज भट्टलाई माओवादीले दलत्याग अन्तर्गत सांसदबाट हटाएको थियो।