पार्टीमा देखिएको विवाद समाधान गर्न गठित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को कार्यदल बैठक शुरू भएको छ ।
बिहान एघार बजे बस्ने भनिएको बैठक झण्डै २ घण्टा ढिलो गरी शुरू भएको हो ।
माधव नेपाल पक्षका संयोजक भीम रावल बैठकस्थलमा ढिला गरी पुगेपछि सिंहरदबारस्थित अर्थ मन्त्रालयमा बैठक शुरू भएको पार्टी स्रोतले बताएको छ ।
नेताहरूका अनुसार आजको बैठकमा रावल र विष्णु पौडेलले तयार पारेको सहमतिको मस्यौदामा छलफल गरेर अन्तिमरूप दिने कोसिस हुने छ ।
बिहीबार साँझको बैठकपछि प्रतिक्रिया दिँदै नेपाल पक्षीय कार्यदल सदस्य घनश्याम भुसालले एमाले विवादका सन्दर्भमा विगत १० दिनदेखि केही पनि प्रगति नभएको बताएका थिए ।
कार्यदलकै पहलमा बुधबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच होटेल मेरियटमा वार्ता भएको थियो । वार्तामा दुई नेताहरुबीच पार्टीभित्र शक्ति बाँडफाँटबारे कुरा भए पनि सहमति नजुटेपछि आज पुनस् बैठक बस्न लागिएको हो ।