बागमती प्रदेशको प्रदेशसभा बैठक आज शनिबार बस्दै छ ।
सभामुख सानुकुमार श्रेष्ठले शनिबार दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
प्रतिपक्षीको माग पूरा गर्ने सहमति नगरी सरकारले संसद बैठक आह्वान गरेको भन्दै प्रतिपक्षी दलले असन्तुष्टि जनाइरहेका छन् । सत्तापक्षको खनाल–नेपाल समूहले पनि सदन सञ्चालनबारे सरकारले छलफल नगरेको बताएको छ । प्रतिपक्षी दलले बजेटप्रति असन्तुष्टि जनाउँदै अवरुद्व गरेपछि संसद बैठक बस्न सकेको थिएन ।
संसद अवरुद्व गरेको एक सातासम्म पनि सहमतिका लागि कुनै प्रयास नगरेको प्रदेश सरकारले शुक्रबारबाट मात्रै छलफललाई अगाडि बढाएको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको संससदीय दलको नेता शालिकराम जम्कट्टेलले बताए । शुक्रबार सरकारसँग छलफल भए पनि सहमति भने नभएको उनको भनाइ छ ।
सरकारले असन्तुलित ढंगले बजेट ल्याएको, कमिसनको लोभले हतारमा विद्युतीय बस खरिद गर्न लागेको, औचित्यहीन सुरुङमार्ग निर्माण गर्न लागेको र आफू नियन्त्रित सञ्चार गृह सञ्चालन गर्न लागेको भन्दै प्रतिपक्षी दलहरुले संसद बैठक अवरुद्व गर्दै आएका छन् । आफ्नो माग सम्बोधन नभएसम्म संसद चल्न दनिे प्रतिपक्षी दलले अडान राखिरहँदा प्रदेश सरकार भने असार मसान्तभित्रै बजेट पास गर्ने दाउमा रहेको छ ।