जनता समाजवादी पार्टी (जसपा) खारेज गर्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा आज (आइतबार) रिट निवेदन दर्ता भएको छ।
अधिवक्ता राजकुमार थापाले दुई पार्टी मिलेर बनेको जसपाको एकता प्रक्रिया नै त्रुटिपूर्ण रहेको भन्दै रिट दायर गरेका हुन्। उक्त रिटमाथि सुनुवाइका लागि आगामी बुधबारको पेसी तोकिएको छ।
गत वर्ष वैशाख १० गते तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी मिलेर जसपा बनेको थियो। तर प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा जाने र नजाने भनी दुई समूह निर्माण हुँदा उक्त पार्टीमा दरारको सिथति पैदा भएके थियो।
विवाद बढ्दै जाँदा जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव एकअर्कालाई कारबाही गर्दै आधिकारिकताको दाबी गर्न निर्वाचन आयोग पुगेका थिए। आयोगले दुवै पक्षलाई बोलाएर छलफल पनि गरिसकेको छ।
ती दुई समूहमध्ये अहिले जसले आधिकारिकता पाए पनि अबको राजनीतिक यात्रा सँगै गर्न नसक्ने बताइसकेका छन्।