नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न लागिएको भन्दै आन्दोलनरत कर्मचारीका ट्रेड युनियनहरुलाई अन्य विभिन्न संस्था तथा निकायका कर्मचारी संघ संगठनहरुले ऐक्यवद्धता जनाएका छन् ।
नेपाल वायुसेवा निगमलाई निजीकरण गर्नका लागि कम्पनीको प्रवन्धपत्र र नियमावली समेत बनाइसकेको र निगमलाई बेच्न लागिएको भन्दै कर्मचारीहरु निरन्तर आन्दोलित हुन् ।
निजीकरण गर्ने निर्णय फिर्ता लिनुपर्ने र निगमको सञ्चालक समिति सदस्यहरु र महाप्रवन्धकको राजीनामा माग गर्दै वायुसेवा निगममा क्रियाशिल ट्रेड युनियनहरु आन्दोलित छन् । आन्दोलनरत ट्रेड युनियनहरुलाई अन्य विभिन्न संघ, संस्था तथा निकायका कर्मचारी संघ, संगठनले आन्दोलन जनाउँदै माग पूरा नहुञ्जेलसम्म आन्दोलन नरोक्न आग्रह गरेका छन् ।
नेपाल सार्वजनिक सेवा कर्मचारी संघका अध्यक्ष जनार्दन शर्माले नेपाल वायु सेवा निगम राष्ट्रिय गौरवको संस्था भएको उल्लेख गर्दै राज्यले यसलाई नाफा, घाटासँग हेर्नु नहुने बताए । वायुसेवा निगमका कर्मचारीहरुको आन्दोलनमा आफुहरुको ऐक्यवद्धता रहेको उनले बताए ।
त्यस्तै, आन्दोलनमा ऐक्यवद्धता जनाउँदै नेपाल आयल निगम कर्मचारी संघका अध्यक्ष मधुमाश पन्तले भ्रष्ट महाप्रवन्धक नियुक्त गर्ने पार्टी संयन्त्रका विरुद्ध धावा बोल्नुपर्ने आवश्यकता रहेको औँल्याए । उनले अध्याँरो कोठामा बसेर दिइने नियुक्ति लिएका मानिसहरुले देश र जनताप्रति जिम्मेवार नहुने पनि बताए । उनले निगमका कर्मचारीको आन्दोलनमा ऐक्यवद्धता जनाए ।
निगमलाई निजीकरणमा लाने निर्णय फिर्ता नहुञ्जेलसम्म आन्दोलन नरोकिने निगमका आन्दोलनरत कर्मचारीहरुले बताएका छन् ।