logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भाडा बढाउनुपर्ने लगायतका माग राख्दै यातायात व्यवसायीको धर्ना


अंकुरण खबर
637
Shares

भाडा समायोजन र कोभिड–१९ विरुद्धको खोप लगाउन पाउनुपर्ने लगायतका ७ बुँदे माग राख्दै यातायात व्यवसायीहरुले यातायात व्यवस्था विभागमा धर्ना दिएका छन्।

यातायात व्यवसायीहरुले यातायातसँग सम्बन्धित व्यक्तिहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाइनुपर्ने, यातायातको भाडा समायोजन गर्नुपर्ने र मौद्रिक नीतिमा व्यवसायीको समस्यालाई समावेश गरिनुपर्ने लगायतका ७ बुँदे माग राख्दै मंगलबार यातायात व्यवस्था विभागको कार्यालयमा धर्ना दिएका हुन्।

व्यवसायीले यातायातको विमा छुट समायोजन गर्नुपर्ने, सडक कानुन लागु गर्नुपर्ने, यातायातको कागजपत्र नविकरण र जरिवाना छुट गर्नुपर्ने तथा ढुवानी यातायातको वर्तमान नीति पुनरावलोकन गर्नुपर्ने पनि माग गरेका छन्।

आफुहरुको माग सम्बन्धित सरोकारवाला विभिन्न निकाय समक्ष पटक–पटक राख्दा पनि सम्बोधन नभएकाले आन्दोलनमा आउनुपर्ने बाध्यता भएको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष दोलनाथ खनालले बताए।

उनले सरकारले यातायात व्यवसायीको समस्या समयमै बुझेर सम्बोधन गर्नुपर्ने पनि बताए।

यातायात व्यवसायीले लकडाउनको कारण व्यवसाय नै धरापमा परेको भन्दै सरकारले विशेष राहत दिनुपर्ने बताउँदै आएका छन्।

धर्नाका क्रममा नारावाजी समेत गरेका थिए भने आम्दानी छैन बैंक किस्ता र राजस्व तिर्ने छैन, बैंकको ज्यादती बन्द गर, निषेधाज्ञा अवधिभरको विमा पूर्ण रुपमा छुट गर लगायतका प्लेकार्ड प्रदर्शन समेत गरेका थिए।