नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी उपाध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
बुधबार बिहान श्रेष्ठ र गौतम नेता नेपाललाई भेट्न उनको निवास कोटेश्वर पुगेका हुन्। बिहान सुरूमा श्रेष्ठ कोटेश्वर पुगेका थिए भने केही समयपछि गौतम पुगेका थिए।
नेपाल र श्रेष्ठबीच गठबन्धनबारे छलफल भएको र गौतमसँग समसामयिक राजनीतिक घटनाक्रम र पार्टीभित्रका विवाद समाधान गर्ने विषयमा कुराकानी भएको बताइएको छ ।
अध्यक्ष केपी ओली र नेता नेपाल पक्षका नेताहरूले आन्तरिक विवाद मिलाउन १० बुँदे प्रस्ताव तयार पारेका थिए। तर उक्त प्रस्ताव स्थायी कमिटीबाट अनुमोदन भइसकेको छैन।
यसबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक राखे पनि पटकपटक स्थगित गरिरहेको छ।