logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नवनियुक्त महान्यायाधिवक्ता खातीले लिए सर्वोच्च अदालतमा शपथ


अंकुरण खबर
1.352K
Shares

नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले सर्वोच्च अदालतमा शपथ ग्रहण गरेका छन्।

उनलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले शपथ खुवाएका हुन्।

राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले महान्यायाधिवक्तालाई पद तथा गोपनीयताको शपथ गराउने प्रचलित अभ्यास छ। तर यसपटक राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त परम्परा तोड्दै महान्यायाधीवक्ता खातीको शपथ ग्रहण समारोह शीतल निवासमा आयोजना गर्न अस्वीकार गर्नुका साथै आफू पनि उपस्थित नहुने जनाएपछि सर्वोच्च अदालतमा राष्ट्रपतिको उपस्थितिबिनै शपथ गरिएको हो।

महान्यायाधिवक्ता खातीले आफू राष्ट्रपति र सरकारको प्रमुख कानुनी सल्लाहकार रहेको राष्ट्रपतिबाटै नियुक्ति पनि भइसकेको हुँदा विगतको अभ्यासबमोजिम नै शपथ हुनुपर्ने अडान राखेका थिए।

राष्ट्रपति कार्यालयले प्रधानन्यायाधीशले शपथ खुवाउने भएकाले उतै परिपत्र गरिएको जानकारी खातीलाई दिएको थियो।

निवर्तमान महान्यायाधिवक्ता रमेश बडाललाई भने राष्ट्रपति भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राष्ट्रपति कार्यालयमा नै शपथ गराएका थिए।

यसअघि शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्दाको भाषालाई लिएर असार २९ गते राष्ट्रपति र प्रधानमन्त्रीबीच असमझदारी उत्पन्न भएको थियो। त्यसैको परिणाम आजको शपथमा पनि देखिएको विश्लेषण गर्न थालिएको छ।