logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशका अधिकांश स्थानमा वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध


अंकुरण खबर
819
Shares

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाद देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।

शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ भने प्रदेश १, बागमती प्रदेश र सुदुर पश्चिम प्रदेशको एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

यस्तै, आज राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा प्रदेश १ का थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। साथै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका सतर्कताका लागि सुझाव

देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन र यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।