काठमाडौं–दिल्लीमा अब साताको ६ उडान हुने भएको छ ।
नागरिक उड्डयन प्राधिकरणले सोमवारदेखि काठमाडौं–दिल्लीको उडान सातामा २ बाट ६ पुर्याएको हो ।
प्राधिकरणको उडान अनुमति शाखाका उप–प्रबन्धक ज्ञानेन्द्र भुलले सोमबारदेखि लागू हुनेगरी नेपाल वायुसेवा निगम र भारतीय ध्वजाबाहक एयर इन्डियालाई सातामा ३÷३ गरी ६ वटा उडान गर्ने अनुमति आइतबार जारी गरेका छन् ।
वैशाखमा कोरोना संक्रमणको दोस्रो लहरको चेन ब्रेक गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २३ देखि सातामा १४ वटा उडान हुँदै आएको काठमाडौं–दिल्ली सेक्टरमा दुइटा उडानमा सीमित गराएका थिए । त्यसयता नेपालले अन्य मुलुकमा व्यवसायिक उडानमा रोक लगाएपनि नेपाल भारत उडान सातामा दुइटा हुँदै आएको थियो ।
पछिल्लो पटक निषेधाज्ञा खुकुलो भएसँगै यात्रु चाप वृद्धि भइ यो रुटको हवाइ भाडा एकतर्फी ५० हजार रुपैयाँसम्म पुगेपछि मन्त्रीपरिषद्को शनिबारको बैठकले एयर बबल अवधारणा अन्तर्गत भइरहेका उडानको संख्या बढाउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता राजकुमार क्षत्रीले बताए ।
मन्त्रिपरिषद्को निर्णय अनुसार, प्राधिकरणले साउन ४ गतेदेखि भदौ १५ गतेसम्म दुई देशका वायुसेवालाई सातामा ६ वटा उडान गर्ने अनुमति दिएको हो । यी वायुसेवाले नेपाल सरकारले बनाएको स्वास्थ्य मापदण्ड पालना गराउदै सेवा दिनुपर्ने छ । अब नेपाल–भारत उडान बिहीबारबाहेक बाँकी ६ दिनै हुने छन् ।