जापान पठाइदिन्छु भन्दै नगद ३९ लाख ६८ हजार ९ सय ९६ रुपैयाँ ठगी गरेको अभियोगमा दुई महिलासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं नयाँबजार बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका १२ पदमपोखरी घर भएकी ३७ वर्षीया शुभद्रा परियार, काठमाडौं नयाँबानेश्वर बस्ने ईलाम सूर्योदय नगरपालिका ४ श्रीअन्तु घर भएकी ३३ वर्षीया पुजा राई, काठमाडौं कपन बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ९ राम्चे घर भएका ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुर चाँगुनारायण नगरपालिका ७ खरिपाटी बासँवारी बस्ने २१ वर्षीया दिपिका केसीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
सामाजिक संजाल फेसबुकमा “टानाकायोका”को नामबाट फेसवुक प्रयोग गरी आफु जापानको ‘इमिग्रेसन’मा काम गर्ने जापानको नागरिक हो भन्दै पीडितहरुसँग चिनजान गरी जापान जान वर्किङ भिषा प्रक्रियाको लागि रकम पठाउनु पर्छ भनि प्रलोभनमा पारी उक्त नगद विभिन्न बैंक खातामा डिपोजिट गर्ने लगाई जापान नपठाई सम्पर्क विहीन भएको ठगी गर्ने कार्यमा संलग्न उनीहरुलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।