नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ ।
च्यासलमा रहेको तुल्सीलाल स्मृति भवनमा सोमबार सुरु भएको केन्द्रीय कमिटी बैठक आज पनि बस्न लागेको हो ।
सोमबार बसेको बैठकले ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका एमालेका २२ सांसदलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । अध्यक्ष केपी शर्मा ओलीले यो बैठकमा आफ्नो उद्घाटन मन्तव्य राखेका थिए ।
उनीहरुलाई २४ घन्टाको स्पष्टिकरण सोध्ने केन्द्रीय कमिटी बैठकले निर्णय गरेको थियो । तर, कोही पनि सांसदले यसबारे कुनै जवाफ दिएका छैनन् । एमालेमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले यो स्पष्टिकरणको कुनै जवाफ नदिने पनि बताएका छन् ।
आज बस्ने केन्द्रीय कमिटी बैठकमा यी नेताहरुमाथि पार्टीले कारवाही गर्ने सम्भावना रहेको छ । तर, उनीहरुलाई पार्टीले सांसद पदबाट बाहिर निकाल्न भने पाउने छैन ।
२८ असारमा संसद पुनस्र्थापन गर्न आदेश दिएको सर्वोच्च अदालतले देउवालाई विश्वासको मत दिएका सांसदलाई कुनै पनि पार्टीले कारवाही गर्न नपाउने फैसला पनि गरेको थियो ।