समाचार

गण्डकीमा ३६३ जनामा कोरोना संक्रमण, थप ३ जनाको मृत्यु

गण्डकी प्रदेशमा थप ३६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ३० जनाको नमुना परिक्षण गरिएकामा ३६३ जनामा संक्रमण देखिएको हो ।

संक्रमितमध्ये १७१ महिला र १९२ जना पुरुष रहेका छन् । प्रदेशका ८ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै बागलुङमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार कास्की ११२, बागलुङ ३, स्याङ्जा ४६, म्यादी १८, पर्वत ३४, गोरखा १३, लमजुङ २१, तनहुँमा ३८ र नवलपुरमा ७८ जनामा संक्रमण देखिएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६२ हजार ७२४ पुगेको छ । प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–५ की ४५ वर्षीय महिला, पोखरा–२९ का ६२ वर्षीय पुरुष र नवलपरासी पूर्व मध्यविन्दू–८ की ७३ वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४१ जना पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो सँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५८  हजार ५७४ पुगेको छ ।

त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ३ हजार १०९ जना पुगेको निर्देशनालयले जनाकारी दिएको छ ।

Comment here