शिक्षा

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै

कोभिड १९ उच्च जोखिमका कारण रोकिएको कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भौतिक उपस्थितमै हुने निर्णय भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले परीक्षा साउन ३१ गतेदेखि भदौं ९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता जंगबहादुर अर्यालले बताए ।

परीक्षालाई स्वास्थ्य सुरक्षाको हिसाबले सुरक्षित बनाउन बोर्डले शिक्षा मन्त्रालयसँग परीक्षामा सहभागिता जनाउने विद्यार्थीलाई उच्च प्राथमिकतामा राखी कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न अनुरोध गरेको छ ।

बिहान ११ बजेदेखि २ बजेसम्म तीन घण्टा सञ्चालन हुने परीक्षामा विद्यार्थीले सय नम्बरकै लिखित परीक्षा दिनुपर्ने छ । ‘देशभरिका तीन लाख ७५ हजार परीक्षार्थीको परीक्षा होम सेन्टरबाटै हुन्छ,’ अर्यालले भने, ‘परीक्षा केन्द्रमा स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णपालना गराइने व्यवस्था गरिएको छ ।’

बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले यसपटक प्रश्नपत्र अनलाइन र अफलाइन दुवै माध्यमबाट पठाइने बताए । अनलाइन पहुँच भएका केन्द्रमा परीक्षाकै दिन प्रश्नपत्र इमेल वा अन्य विद्युतीय माध्यमबाट पठाइने व्यवस्था गरिएको उनले जनाए ।

‘परीक्षार्थीलाई सरकारले परीक्षाअगावै कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न बोर्डले शिक्षा मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयसमक्ष अनुरोध पठाएको छ,’ अध्यक्ष पौडेलले भने, ‘दुर्गमका परीक्षा केन्द्रमा छापिएका प्रश्नपत्र नै पठाउनले व्यवस्था बोर्डले गरेको छ । परीक्षा हलमा पनि एउटा बेन्चमा एकजना विद्यार्थी मात्र बस्ने व्यवस्था गरिएको छ । कोभिडका कारण परीक्षा दिन नसक्ने विद्यार्थीलाई प्रमाणको आधारमा पुनः परीक्षाको व्यवस्था गरिएको छ ।’

देशभरि चार हजार तीन सय ३५ माध्यामिक विद्यालयहरूमा कक्षा ११ र १२ चलेका छन् । त्यही भएर यसपटक चार हजार तीन सय ३५ परीक्षा केन्द्र तोकिएको छ ।

‘सतप्रतिशत नम्बरका लागि लिखित परीक्षा हुन्छ,’ अध्यक्ष पौडेलले भने, ‘२५ नम्बरको प्रयोगात्मक परीक्षा विद्यालयले नै लिन्छ ।’

कोरोना जोखिमका कारण होम सेन्टर तोकिएपछि परीक्षालाई थप मर्यादित र व्यवस्थित गर्न जिल्ला प्रमुखहरूको संयोजकत्वमा रहेको परीक्षा समन्वय समितिलाई थप जिम्मेवार बनाइएको छ ।

‘होम सेन्दर भन्दैमा विद्यार्थी र शिक्षकले मनपरी गर्न मिल्दैन । विद्यार्थीले आफनो सिप, क्षमता र योग्यता प्रर्दशन गर्नुपर्छ भने शिक्षकले पनि पेसाप्रति इमान्दार हुनुपर्छ,’ अध्यक्ष पौडेलले भने, ‘यसका लागि बोर्डले केन्द्राध्यक्षलाई अभिमुखीकरण तालिमको व्यवस्था गरेको छ ।’

उनले थपे, ‘कोरोना महामारीबीच परीक्षा सञ्चालन, व्यवस्थापन र स्वास्थ्य सुरक्षाको मापदण्ड मास्क अनिवार्य लगाउने, स्यानिटाइजर तथा साबुनपानीको प्रयोग शौचालय सरसफाइलगायतका पालनाबारे केन्द्राध्याक्षलाई बोर्डले अभिमुखीकरण गर्नेछ ।’

परीक्षाको मर्यादा उल्लघंन गर्नेहरूलाई कानुनअनुसार ६ महिना कैद वा एक लाख जरिबाना वा दुवै हुनसक्ने व्यवस्था छ । आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Comment here