logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जसपा विवादमा बहस टुंग्याउने आयोगको तयारी, आजै आदेश आउन सक्ने


अंकुरण खबर
637
Shares

जनता समाजवादी पार्टी (जसपा)भित्रको विवाद समाधान गर्न गठित निर्वाचन आयोगको इजलास आज बस्दै छ। आयोगले आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरेको छ।

यसअघि आइतबार बहस गर्दै आयोगले जसपाको दुवै पक्षलाई आधिकारिक कागजात बुझाउन भनेको थियो। दुवै पक्षले बुझाएको प्रमाण तथा जसपाको केन्द्रीय कार्यकारिणी समितिको बहुमत, अल्पमत हेरेर निर्णय लिइने आयोगले जनाएको छ।

आयोगको कानुन महाशाखाका अनुसार दुवै पक्षले बुझाएको सक्कल कागजातकै भरमा फैसला लिन आयोगलाई कठिनाइ परेको छ। बैठकको तरिका र कागजातमा दुवै पक्षबाट आ–आफ्नो दाबी गरिए पनि पार्टीको विधिअनुसार दुवैको प्रक्रिया मिलेको नदेखिएको आयोग स्रोतले जनाएको छ।

जसपामा केन्दीय कार्यकारिणी समितिलाई लिएर पनि विवाद छ। दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले अलग अलग समिति दाबी गरिरहेका छन्।

आज हुने सुनुवाइपछि आयोगको इजलासले आधिकारिक केन्द्रीय कार्यकारिणी समिति कुन हो त्यसबारे निर्णय दिन सक्ने बताइएको छ। त्यसपछि तीनरचारदिनको समय दिएर समितिमा रहेकालाई आयोगमा उपस्थित गराएर हेड काउन्ट गर्ने तयारी छ।

दुवै पक्षका तीनरतीन जना कानुन व्यवसायीलाई आयोगले बहसका लागि बढीमा दुईरदुई घण्टाको समय निर्धारण गरेको छ। आयोगले दुवै पक्षको कुरा सुनेर आजै केही आदेश आउन सक्ने बताइएको छ। जसपा दर्ताको बेला ५१ सदस्यीय कार्यकारिणी समिति आयोगको अभिलेखमा छ। पछि अध्यक्ष महन्थ ठाकुरले २० जना कार्यकारिणी सदस्य थप गरेका थिए।

राजनीतिक दलसम्बन्धी ऐनमा लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेको पक्षलाई दलको आधिकारिकता दिने प्रावधान छ।

आयोगले जसपा विवादबारे टुंगो लगाउन प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको थियो।