प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रतिवद्धता पूरा गर्ने बताएका छन ।
प्रतिनिधिसभाको आज बसेको बैठकमा आफूलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आफूले खोपलाई पहिलो प्राथमिकतामा राखेको बताएका हुन ।
उनले ऋण लिएर भए पनि, जनतालाई खोप पुर्याउने प्रतिवद्धता पूरा गर्ने स्पष्ट पारे । प्रधानमन्त्रीका रुपमा आफ्नो कार्यकाल एक वर्ष ५/७ महिना मात्र रहने भन्दै उनले यस अवधिमा पनि देखिने गरी काम गर्ने बताए ।
त्यसैगरी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तामा हुँदा विधि नमान्नेहरुले सत्ताबाट बाहिरिएर प्रतिपक्षमा बस्दा विधिको कुरा गर्न नसुहाउने टिप्पणी गरेका छन । नेता सिंहले प्रतिपक्षमा पुगेको नेकपा एमालेले शेरबहादुर देउवा सर्वोच्चको परमादेशबाट बनेको प्रधानमन्त्री भएको भनेर गरेको टिप्पणीप्रति नेता सिंहले आपत्ति जनाएका हुन।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यंग गर्दै नेता सिंहले चुच्चे रेल, पानी जहाज, हाइवेमा रनवे पनि बनिसकेकाले प्रधानमन्त्री देउवालाई काम गर्न सहज हुने ठोकुवा गरे ।