logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जसपा आधिकारिकता विवादको टुंगो आज लाग्ने, उपेन्द्र यादवले पाउने सम्भावना


अंकुरण खबर
3.38K
Shares

जनता समाजवादी पार्टीको आधिकारिताबारे निर्वाचन आयोगले सोमबार फैसला दिने भएको छ ।

निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा गठन भएको इजलासले दुवै पक्षका वकिलहरुको बहस सुन्दै आजको निम्ती हेड काउन्ट गर्ने आदेश सुनाएको थियो ।

सोही आदेश अनुसार आज दुवै पक्षका कार्यकारिणी सदस्यहरु सशरीर निर्वाचन आयोगमा उपस्थित हुने भएका छन् ।

आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर समूह छुट्टाछुट्टै बैठक बस्दै अगामी रणनीति तय गर्नमा जुटेका छन् ।

यादव पक्षले आफूनिकट कार्यकारिणी समितिका सदस्य तथा सांसदलाई गोदावरी भिलेज रिसोर्टमा राखेर आइतबार प्रशिक्षण दिएको छ । संघीय परिषद्का अध्यक्ष डा। बाबुराम भट्टराई, अध्यक्ष यादव र वरिष्ठ नेताा अशोक राईले प्रशिक्षण दिएका छन् ।

उनीहरूलाई आइतबार राति रिसोर्टमै राख्ने र सोमबार बिहानको चिया तथा खाना खाएर सिधै निर्वाचन आयोग लैजाने योजनामा यादव पक्ष रहेको जसपा स्रोतले जनाएको छ ।

‘कार्यकारिणी समितिका सदस्य वा सांसदहरू दायाँबायाँ नलागून् भन्ने उद्देश्यले नै रिसोर्टमा राखिएको र यहाँबाट सिधै निर्वाचन आयोगको कार्यालयमा लैजाने कार्यक्रम रहेको छ,’ यादव निकटका एक नेताले भने ।

फुटनजिक पुगेको जसपाभित्र अहिले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू तानातानमा परेका छन् । ५१ सदस्यीय कार्यकारिणी समितिमा यादव समूह बलियो देखिन्छ ।

यादव पक्षले आफूहरूसँग कार्यकारिणी समितिका ३३ सदस्य र २१ जना सांसद रहेको दाबी गर्दै आएको छ । संसदीय दलमा बलियो रहेको ठाकुर समूह अहिले आएर कमजोर भएको छ ।

यादव समूह अहिले कार्यकारिणी समितिका साथै संसदीय दल दुवैतर्फ बहुमतसहित बलियो छ । आफ्नो बहुमत नभएको कारण निर्वाचन आयोगको हेड काउन्टको निर्णय रोक्न माग गर्दै अध्यक्ष ठाकुरले सर्वाेच्च अदालतमा मुद्धा दायर गरेका थिए । तर आइतवारको इजलासले निर्वाचन आयोगको कामलाई रोक्न अन्तरिम आदेश दिन भने मानेको थिएन ।