समाचार

गुल्मी जीप दुर्घटना अपडेट : ज्यान गुमाउने तीनै जनाको सनाखत

गुल्मीमा जीप दुर्घटनामा ज्यान गुमाएका तीनै जनाको सनाखत भएको छ ।

गुल्मीको चन्द्रकोट गाउँपालिका–४ का वर्ष ४३ का तेजबहादुर खत्री, सोही गाउँपालिका–५ का वर्ष ३६ का रेशम कार्की र रेसुङ्गा नगरपालिका–२ बाख्रेछेंडा बस्ने वर्ष ६२ की सुनिता विक को जीप दुर्घटनामा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईका अनुसार उनीहरूको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा सात जना घाइते भएका छन् । घाइते हुनेमा चन्द्रकोट गाउँपालिका–६ की विनिता परियार, ७ की मुना भण्डारी, ४ का गगन क्षेत्री, ५ का जीप चालक बमबहादुर विक, ८ का सुशील विक, ७ का गोकुल भण्डारी र रेसुङ्गा नगरपालिका–२ की रमिला भण्डारी रहेका छन् ।

घाइतेमध्ये गोकुल, रमिला र मुनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ भने अन्य चार जनालाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पामा लगिएको छ । घाइतेमध्ये पाल्पा लगिएका दुई जनाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ ।

बुधबार बिहान चन्द्रकोट गाउँपालिका–४ अन्र्तगत शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नंको जीप बुधबार बिहान ११ बजे मुसिकोट नगरपालिका–४ अन्तर्गत इन्द्रेगौँडाको दोभान नजिकै दुर्घटना भएको थियो ।

 

Comment here