Breaking Newsराजनीति

मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक बस्न लागेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान ८ः३० बजे सत्तारुढ गठबन्धनको बैठक बोलाएका हुन्। बैठकमा शीर्ष नेताहरुबीच छलफल हुनेछ।

बुधबार पनि सत्तारुढ गठबन्धनको बैठक बसेको थियो। बैठकमा सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको थियो। यससँगै न्यूनतम् साझा कार्यक्रम ल्याउने विषयमा पनि छलफल भएको जनाइएको छ।

आजको बैठकमा कुन पार्टीलाई कति मन्त्रालयले दिने भन्ने विषयमा छलफल हुने भएको छ। त्यसको टुंगो लागेपछि पार्टीहरुले मन्त्री सिफारिश गर्नेछन्।

अहिले मन्त्रिपरिषद् ६ सदस्यीय छ। जसमा कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादीबाट दुई मन्त्री छन्।

जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनाउन बाँकी छ। त्यस्तै, राष्ट्रिय जनमोर्चाले सरकारमा नजाने जनाएको छ।

सत्तारुढ गठबन्धनले नेकपा (एमाले)को माधवकुमार नेपाल पक्षलाई पनि सरकारमा सहभागी हुन आग्रह गर्दै आएको छ। तर, नेपाल पक्षले सरकारमा सहभागी नहुने जनाउँदै आएको छ।

Comment here