Breaking Newsराजनीति

माओवादीमै रहेको दाबी गरेका ‘एमाले नेता’को रिटमाथि आज सुनुवाइ हुँदै

सांसद पदमा पुनर्वहाली गर्न माग गर्दै पूर्वमाओवादीका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै छ।

नेकपा (माओवादी केन्द्र)को कारबाहीपछि प्रतिनिधि सभा सदस्यबाट पदमुक्त भएका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले दायर गरेको रिटमा आज सुनुवाइ हुन लागेको हो।

उनीहरु परमादेशबाट सांसद पदमा पुनर्वहालीको माग गर्दै बुधबार सर्वोच्च अदालत पुगेका थिए। गत चैत २६ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पत्रका आधारमा संसद् सचिवालयले आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको उनीहरुको दाबी छ।

उनीहरूले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरुको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने माग गरेका छन्।

यी चार नेता २०७७ फागुन २३ गते सर्वोच्च अदालतले नेकपा विवादमा एमाले र माओवादी केन्द्र ब्युँताएपछि एमालेमा लागेका थिए।

तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी गराउने भएपछि उनीहरु माओवादी छोडेर एमालेतिर लागेका थिए। तर, उनीहरुले बुधबार सर्वोच्च पुगेर आफूहरु माओवादी नै रहेको र सांसद पद खारेज गरेको भनेर माओवादी केन्द्रले गरेको निर्णय र संसद् सचिवालयले गरेको सदर खारेज गर्न माग गर्दै रिट दर्ता गरे।

उनीहरुले आफूहरुको सांसद पद यथावत राख्न माग गरेका छन्। यसअघि उनीहरु निर्वाचन आयोगमा पुगेका थिए। आयोगले उनीहरूको निवेदन खारेज गरिदिएको थियो।

माओवादी केन्द्र अवैधानिक रहेको दाबी गरेका उनीहरुले सर्वोच्चमा भने माओवादी केन्द्रमै फर्काउन माग गरेका छन्।

Comment here