logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इपिएसबाट कोरिया पठाउने काम नरोक्न निर्देशन


अंकुरण खबर
689
Shares

राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवाहरु डेढ वर्षदेखि कामका लागि दक्षिण कोरिया जान नपाएको विषयमा गम्भीर हुन नेपाल सरकारलाई निर्देशन दिएको छ।

सिंहदरबारस्थित समितिमा आज (बिहीबार) भएको बैठकमा सम्बन्धित मन्त्रालय र निकाय तथा पीडित पक्षको छलफलपछि कोभिड–१९ लाई मात्रै कारण बनाएर ती युवालाई रोक्न नहुने जनाउँदै छिटो र सरल माध्यमबाट पठाउन निर्देशन दिएको हो ।

समितिका सभापति रामनारायण बिडारीले प्रभावित युवाहरूले विभिन्न मन्त्रालयमा धाउँदा पनि काम नभएपछि आफूसमक्ष उजुरी दिएकाले तत्काल यो प्रक्रिया अघि बढाउनुपर्ने बताए।

दक्षिण कोरियाले नेपाली कामदार लिन तयार रहेको र कोभिड बिमा गराई त्यहाँ पुगेपछि क्वारेन्टिनमा बस्ने गरी सिधा हवाई सम्पर्कमार्फत पठाउन आग्रह गरेकामा दोस्रो लहरको सङ्क्रमणका कारण ढिलाइ भएको सरकारी अधिकारीले जनाएका थिए।

श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले सीधा हवाई सम्पर्कका लागि नेपाल एयरलाइन्सलाई अनुमति नभएकाले कोरियाली विमानबाट पठाउने प्रक्रिया सुरु गरिएको जानकारी दिए।

समितिका सदस्य राधेश्याम अधिकारीले कोरियास्थित नेपाली दूतावासले पनि यसबारे पहल गर्नुपर्ने बताए भने अर्का सदस्य डा। खिमलाल देवकोटाले पीडित युवालाई मन्त्रालय र संसदीय समितिमा धाउन लगाउनु गलत भएकाले सम्बन्धित निकायका अधिकारीले नै पहल गर्नुपर्ने बताए।