logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मेलम्चीमा फेरि बाढी, सतर्क रहन स्थानीय प्रशासनको आग्रह


अंकुरण खबर
1.677K
Shares

सिन्धुपाल्चोकको मेलम्ची नदीमा फेरि बाढी आउन थालेको छ। स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

गएरातिदेखि मेलम्चीमा बाढी आउन थालेको हो। काठ, दाउरा, ठूला ढुंगा र लेदोसहित बाढी आएको स्थानीय बासिन्दाले बताएका छन्।

यसअघि असार १ गते ठूलो बाढी आएको थियो। त्यसले जनधनको क्षति गरेको थियो। पुनःस्थापना हुन नपाउँदै फेरि बाढी आउन थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्।

गएरातिदेखि नै ठूलो पानी परेकाले मेलम्ची र इन्द्रावती नदीको बहाव बढ्दो क्रममा रहेको प्रहरीले जनाएको छ। रातिदेखि नै मेलम्ची बजारका बासिन्दाले घर छाडेका छन्। उनीहरु सुरक्षित स्थानतर्फ सरेका छन्।

स्थानीय बासिन्दाका अनुसार हेलम्बु गाउँपालिकाको नाकोते क्षेत्रमा पहिरो गएकाले बाढी आएको हो। अहिले चनौटे बजार क्षेत्रको बीच भागमा नदी बगिरहेको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए।

सुरक्षाकर्मी अलर्ट राखिएको र स्थानीय बासिन्दालाई समयमै सचेत गराइएको उनले बताए।