logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन बालुवाटारमा बैठक बस्दै


अंकुरण खबर
1.755K
Shares

सरकारको न्यूनतम कार्यक्रम तय गर्न गठित कार्यदलले कार्यक्रमलाई आज अन्तिम रूप दिन कार्यदलको बैठक बोलाएको छ ।

बैठक आज बिहान ९ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्दैछ। सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिई आजै शीर्ष नेतृत्वलाई हस्तान्तरण गर्ने कार्यदलको तयारी छ।

यसअघि सोमबार बिहान बसेको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको खाका तयार पारेको थियो।

सरकारको नीति तथा निर्णयलाई प्रभावकारी बनाउनका लागि सत्तारूढ दलले न्यूनतम कार्यक्रम बनाउन लागेको हो। यसका लागि कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल नै बनेको छ।

कार्यदलमा कांग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादीबाट महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठ सदस्य छन्।

न्यूनतम साझा कार्यक्रममा सरकारका प्राथमिकताका क्षेत्र तय गरिनेछ। कार्यदलले कोरोना नियन्त्रणलाई मुख्य प्राथमिकताको क्षेत्र निर्धारण गरेको छ।

मन्त्री बनाउन लागि आवश्यक मापदण्डको तय भने कार्यदलले नगर्ने भएको छ। प्रधानमन्त्री र दलका नेताहरूको क्षेत्राधिकार रहेको उल्लेख गर्दै उक्त विषयमा प्रवेश नगर्ने कार्यदलका एक सदस्यले बताए।

पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारले विधि मिचेर गरेका नियुक्ति उल्ट्याउन कार्यदलले सिफारिस गर्नेछ। संवैधानिक प्रक्रिया पूरा गरेर भएका नियुक्ति भने यथावत रहनेछन्।