कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका हुम्लाको दक्षिणी क्षेत्रका गाउँपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन थालेका छन् ।
ताँजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकाका विद्यालयहरू धमाधम सञ्चालनमा आउन थालेका हुन् ।
लामो समयदेखि विद्यालय बन्द भएकाले विद्यार्थीको भविष्य बिग्रिने भएकाले पठनपाठन कार्यलाई गाउँ कार्यपालिकाको निर्णयानुसार अगाडि बढाइएको अदानचुली गाउँपालिका अध्यक्ष दल फडेराले बताए । गाउँपालिकामा १८ वटा सामुदायिक विद्यालय छन् । बिहीबारदेखि अदानचुलीभित्र रहेका सम्पूर्ण विद्यालय पुनः सञ्चालनमा आएका उनको भनाइ छ ।
सङ्घीय सरकारले स्थानीय सरकारलाई कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय सञ्चालन गर्नसक्ने अधिकार दिएकाले सोहीअनुसार अगाडि बढेको अदानचुली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टक्कदत्त प्याकुरेलले जानकारी दिए । गाउँपालिका क्षेत्रमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य रहेकाले विद्यालय पुनः सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।
ताँजाकोट गाउँपालिकाले यसअघि नै विद्यालय पुनः सञ्चालनमा ल्याइसकेको छ । यद्यपि जिल्लाको माथिल्लो क्षेत्रका सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकामा रहेका विद्यालय कहिले खुल्ने हुन् भन्ने अन्योल कायमै रहेको छ । विद्यालय सञ्चालनमा याएका गाउँपालिकाले स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरेका छन् ।