घुस लिन नमान्ने ३६ जना ट्राफिक प्रहरी सम्मानित भएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरुको प्रलोभनमा नपरि आफ्नो जिम्मेवारि निर्बाह गर्ने प्रहरी निरीक्षकसहित ३६ जना ट्राफिक प्रहरीलाई आज एक कार्यक्रमका बीच पुरस्कृत गरेको हो ।
सम्मानित हुनेहरु मध्य ९ जना ट्राफिक प्रहरीलाई नगद सहित बृद्धि विकासमा सहयोग पुग्ने गरि रेकर्डमा जनिने पुरस्कार दिइयो भने अन्यलाई खादा ओढाएर प्रशंसापत्र सहित सम्मान गरेको र यस्तो कार्यले अन्य प्रहरी कर्मचारीहरूमा समेत सकारात्मक उत्प्रेरणा जगाउने बिश्वास महाशाखाले गरेको छ ।
‘‘प्रहरी सङ्गठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई अक्षरशः पालना गर्न र ट्राफिक नियम उल्लङ्घन गर्ने कुनै पनि चालकहरूको प्रलोभनमा नपर्न हामीले नियमित ब्रिफिङ्ग एव निर्देशन दिँदै आएका छौं ।
फलस्वरुप घुष दिन खोज्ने ४९ जना चालकहरुलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउने ३६ जनालाई आज पुरस्कृत गरेका छौँ,” महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले भने ।