स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले निकट भविष्यमा सञ्चालन हुने सबै परीक्षा स्थगित गर्न सिफारिस गरिएको जानकारी दिएका छन् ।
सामाजिक सञ्जालमार्फत राज्यमन्त्री श्रेष्ठले उक्त जानकारी दिएका हुन् । कोरोना संक्रमण बढ्दो क्रममा रहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शिक्षा मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन केन्द्रलाई परीक्षा स्थगनका लागि सिफारिस गरेको उनले जानकारी दिएका छन् ।
‘कोभिड-१९ फैलँदै गएको विद्यमान परिस्थितिमा चार लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौँ,’ राज्यमन्त्री श्रेष्ठले आफ्नो ट्विटरमा लेखेका छन्, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकारी गराउँछु ।’