सरकारले कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउने मिति तय गरेको छ ।
यहि साउन २५ गतेबाट दोस्रो डोज लगाउने सरकारको योजना छ । अहिले देशभरी कोभिसिल्डको दोस्रो डोज लगाउन बाँकी करिब १३ लाख ३८ हजार बढी रहेका छन् ।
स्वास्थ्य सेवा विभागका अनुसार ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुले साउन २५ गतेबाट दोस्रो डोज खोप लगाउन पाउने छन् ।
भुटानले शुक्रबार बिहान ३ लाख डोज खोप पठाइसकेको र जापानले १६ लाख डोज खोप पठाउने सुनिश्चित भएकाले साउन २५ गतेदेखि दोस्रो डोज एस्ट्रेजेनकाको खोप अभियान सुरु गर्न लागेको हो।
जापानले दिने भनिएको खोप शनिबार र आइतबार दुई लट गरेर आउँदैछ । जापानले दिने भनेको १६ लाख डोज खोप पनि केही दिनभित्र नै आइपुग्ने विभागले जनाएको छ ।
साउन २५ गतेदेखि कोभिशिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकलाई खोप दिने तयारी भएको हो ।
फागुन तेस्रो साता ६५ वर्षमाथिका १३ लाख ३८ हजार भन्दा बढी जेष्ठ नागरिकले भारतको सेरम इन्स्टिच्यूटले विकास गरेको कोभिशिल्ड नामक खोपको पहिलो डोज लगाएका थिए ।