नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारको निर्देशनमा काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
बुधबार प्राधिकरणको कार्यालय पुगेर पदभार ग्रहण गरेका घिसिङले सरकारले दिएको निर्देशन अनुसार नेपालको ऊर्जा क्षेत्रको उचाईलाई अझै माथि उठाउने गरी काम गर्ने प्रतिबद्धता जनाएका हुन् । आम जनताको अपेक्षाको सम्मान गर्दै सरकारले आफूलाई फेरि जिम्मेवारी दिएको उनले बताए ।
उनले भने ,‘सरकारले दिएको जिम्मेवारी, ऊर्जामन्त्री पम्फा भुसालले दिएको निर्देशनअनुसार नेपालको ऊर्जा क्षेत्रलाई अझ हाइटमा लानेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । मैले गर्ने भनेको सरकारको कार्ययोजना हो । त्यही कार्ययोजनालाई अघि बढाउने हो । सरकारको जुन निर्देशन छ, त्यसलाई अघि बढाउने हो । धेरै अगाडि बढनुपर्नेछ ।’
कार्यकारी निर्देशक घिसिङले प्राधिकरणको कामलाई जनताको अपेक्षा अनुसार अघि बढाउन नयाँ गतिका साथ काम गर्न पनि मातहतका कर्मचारीलाई आग्रह गरे ।
उनले आफ्नो पहिलो प्राथमिकता सेवाग्राहीको गुनासोलाई तत्काल सम्बोधन गर्ने रहेको पनि स्पष्ट पारे । सुशासन र गुणस्तरीय सेवाका लागि प्राधिकरणलाई प्रविधिमय बनाउँदै लैजाने उनको योजना छ ।