माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलन आगामी असोज ८ देखि १० गतेसम्म काठमाडौंमा हुने भएको छ।
अखिल क्रान्तिकारीको केन्द्रीय कमिटीको पूर्ण बैठकले गरेका निर्णय सार्वजनिक गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रञ्जित तामाङले राष्ट्रिय सम्मेलनको तिथि र स्थानबारे जानकारी दिएका हुन्।
सम्मेलनका लागि ‘शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टीका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२औं राष्ट्रिय सम्मेलन’ भन्ने नारा तय गरिएको पनि उनले जानकारी दिए।
बैठकले वर्तमान केन्द्रीय समिति राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण गरिसकेको जानकारी दिँदै अध्यक्ष तामाङले भदौ १५ गते सम्ममा एकाइ, क्याम्पस, पालिका, भदौ २५ गतेसम्म जिल्ला सम्मेलन गरिसक्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार भदौ २५ देखि असोज १ सम्म प्रदेश सम्मेलनका लागि समय तय गरिएको छ।
कोरोना संक्रमणका कारण राष्ट्रिय सम्मेलनमा आयोजकसहित ७ सय ९९ जना प्रतिनिधिलाई मात्र समावेश गर्ने जनाइएको छ।