हैबतुल्लाह अखुन्दजादा

आस्थावानका नेता भनी चिनिने अखुन्दजादा इस्लामिक कानूनका विज्ञ हुन् । तालिबानका सर्वोच्च नेताका रूपमा उनले यस संगठनको राजनीतिक, धार्मिक तथा सैन्य मामिलामा सर्वोच्च अधिकार राख्ने गरेका छन् ।
पूर्ववर्ती अख्तर मन्सूर अफगान–पाकिस्तान सीमामा सन् २०१६ मा अमेरिकाको ड्रोन आक्रमणमा मारिएपछि अखुन्दजादाले नेतृत्व लिएका थिए ।
सन् २०१६ को मे महिनामा अचानक बेपत्ता हुनुअघि १५ वर्षसम्म अखुन्दजादाले दक्षिणपश्चिम पाकिस्तानमा रहेको कुचलक शहरको एक मस्जिदमा अध्यापन तथा प्रवचन गर्ने गरेका थिए ।
उनको उमेर ६० वर्ष भएको विश्वास गरिन्छ र उनी कहाँ छन् भन्ने थाहा छैन ।
मुल्ला मोहम्मद याकूब

तालिबानका संस्थापक मुल्ला ओमरका छोरा याकूबले संगठनको सैन्य कारवाहीको सुपरीवेक्षण गर्ने गरेका छन् । स्थानीय मिडियाका अनुसार, उनी अफगानिस्तानभित्रै छन् ।
उनलाई तालिबानको सर्वोच्च नेता बनाउने प्रस्ताव राखिएको थियो ।
तर सन् २०१६ मा उनले अखुन्दजादालाई अघि सारे किनकि आफूसँग युद्धभूमिको अनुभव नरहेको र युवा नै रहेको उनलाई लागेको थियो ।
उनी ३२ वर्ष जतिका छन् ।
सिराजुद्दीन हक्कानी

मुजाहिद्दीनका प्रमुख कमान्डर जलालुद्दीन हक्कानीका छोरा सिराजुद्दीनले हक्कानी नेटवर्कको नेतृत्व लिएका छन् । यस समूहले तालिबानको वित्तीय तथा सैन्य सम्पत्तिको सुपरीवेक्षण गर्ने गर्छ ।
हक्कानीहरूले अफगानिस्तानमा आत्मघाती बम आक्रमणको आरम्भ गरेको केही विज्ञहरूको मान्यता छ । उनीहरूले अफगानिस्तानमा भएका हाईप्रोफाइल आक्रमण पनि गराएको बताइन्छ । काबुलको प्रमुख होटलमा आक्रमण, तत्कालीन राष्ट्रपति हमिद कारजाईको हत्या प्रयास तथा भारतीय दूतावासमा आत्मघाती आक्रमण उनीहरूले नै गराएको बताइन्छ ।
हक्कानीको उमेर ५० जति भएको बताइन्छ । उनको ठेगाना खुलेको छैन ।
मुल्ला अब्दुल गानी बारादर

तालिबानका एक सहसंस्थापक बारादर उक्त संगठनको राजनीतिक कार्यालयको नेतृत्व गर्छन् । दोहामा अफगान सरकारसँगको सम्झौता गर्ने टोलीमा उनी पनि थिए ।
शेर मोहम्मद अब्बास स्टानिकजाई

तालिबानको अघिल्लो सरकारका राज्यमन्त्री स्टानिकजाई लगभग एक दशकदेखि दोहामा बसिरहेका छन् । सन् २०१५ मा तालिबानको राजनीतिक कार्यालयका उनी प्रमुख थिए ।
उनले अफगान सरकारसँग सम्झौता वार्तामा भाग लिएका छन् र कैयौं देशमा तालिबानको प्रतिनिधित्व गर्ने कूटनीतिक यात्रा गरेका छन् ।
अब्दुल हकिम हक्कानी

उनी तालिबानको वार्ताटोलीका प्रमुख हुन् । तालिबानका पूर्व छाया प्रधानन्यायाधीश धार्मिक विद्वानहरूको शक्तिशाली परिषद्को अध्यक्षता गर्छन् । अखुन्दजादाले सबभन्दा बढी पत्याउने व्यक्ति उनी नै हुन् भनिन्छ ।
एजेन्सीको सहयोगमा