प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दल सम्बन्धि अध्यादेशको प्रकृया अगाडि बढाएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल सहित १४ सांसदलाई हटाउन निर्वाचन आयोगमा पत्र पठाएका छन्।
निर्वाचन आयोगले पनि आन्तरिक कारवाही पूरा गरेर १४ जनालाई हटाउने निर्णयको पत्र संसद सचिवालयमा पठाएको छ।
पार्टीको निर्णय नमानी ह्वीप उल्लंघन गरेको भन्दै ओलीले यी सांसदमाथि कारवही गरेका हुन्। सरकारले राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याएपछि ओली समूह माधव नेपाल समूहप्रति आक्रमक बनेको हो।
ओलीले मध्यमार्गमा रहेका माधवकुमार नेपाल समूहका नेतालाई भने कारवाहीको प्रकृयामा सामेल गरेका छैनन्।
कारवाहीको सूचीमा माधव नेपाल, जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाक्री, कल्याण खड्का, लक्ष्मीकुमारी चौधरी, मीरादेवी गैरे, कुश्वकुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खातुन र मेटमणि चौधरी रहेका छन्।