सिन्धुली, सिरहा र धनुषामा करेन्ट लागेर एक/एक जनाको मृत्यु भएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका-१४ तल्लो रानिबास बस्ने ४५ वर्षीय काले माझीको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही ठाउँ बस्ने भतिज हंकु माझीको घर ढलान गर्ने क्रममा विद्युतीय भाईब्रेशन मेसिनबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो।
त्यस्तै सिरहाको लहान नगरपालिका-१ मटियर्वा बस्ने ८५ वर्षीया सियाबती देवी रामको करेन्ट लागेर बुधबार मृत्यु भएको छ।
आफ्नै घरतर्फ जाने क्रममा विद्युतको काठको पोल भाँच्चिएर विद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यता, धनुषाको मिथिला बिहारी नगरपालिका-९ कटरइत नयाँ टोल बस्ने सुजित यादवको ६ वर्षीय छोरा विनेक यादवको करेन्ट लागेर बुधबार मृत्यु भएको छ।
घरमा रहेको मिटरबाट मोटर चलाउन जोडिराखेको तारमा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।