सभामुख अग्नि सापकोटा कार्यालयमा नआएपछि धर्नाका लागि पुगेका एमालेका नेता फर्किएका छन् ।
पार्टीले कारबाही गरेका १४ जनालाई पदमुक्त गरेको सूचना टाँस्न दबाब दिँदै सभामुखको कार्यकक्ष घेराउ गरेका सांसदहरु सभामुख सापकोटा नआएपछि फर्किएका हुन् ।
आज बिहान ११ बजे एमाले सांसदहरु सभामुखको कार्यालय सिंहदरबारमा धर्ना दिन पुगेका थिए । तर, एक घण्टा पर्खिँदा पनि सभामुख नआएपछि एमाले सचेतक शान्ता चौधरीले फोन गरेकी थिइन् । सापकोटाले आज कार्यालयमै नआउने जानकारी दिएपछि उनीहरु फर्किएका हुन् ।
सांसद चौधरीले भने, ‘सभामुखले फेस गर्न नै सक्नु भएन । फेस गर्न नसकेर कहिलेम्म भाग्ने ? उहाँ नै आउनु भएन, त्यसपछि हामी फर्किएका हौं ।’
७२ घण्टा बितिसक्दा पनि सभामुखले कारबाहीको सुचना सार्वजनिक नगरेको भन्दै बिरोधस्वरुप उनीहरु धर्ना दिन पुगेका थिए । बिहीवार पनि सांसदले सभामुखलाई भेटेर कारबाहीको सूचि टाँस्न माग गरेका थिए ।