निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि निवेदन दिएको माधव नेपाल र महन्थ ठाकुर पार्टीका सदस्यहरुलाई सनाखतका लागि बोलाएको छ ।
नेपाल नेतृत्वको प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको दर्ताका लागि आयोगले भदौ ९ गते सनाखत गर्ने निर्णय गरेको छ । उक्त दिन आयोगमा उपस्थित हुन दुवै दलका केन्द्रीय सदस्यहरुलाई बोलाएको हो ।
शुक्रबार बसेको आयोगको बैठकले माधव नेपालको नेतृत्वमा प्रस्तावित नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ताका लागि केन्द्रीय सदस्य र सांसदहरुको सनाखत गर्ने निर्णय गरेको हो ।
भदौ ९ गते बिहान साढे ११ बजेदेखि २ बजेसम्म सनाखतको समय छुट्याइएको र सोही दिन दर्ता हुन सक्ने आयोग स्रोतले जनाएको छ । दुवै दलका केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन भनिएको छ ।